अविरल वर्षासँगै आएको पहिरोमा परि मुगु,कास्की र तनहुमा ८ जनाको मृत्यु भएको छ। अविरल वर्षापछि आएको पहिरोमा परी मुगुमा ३, कास्कीको देउरालीमा एकै परिवारका ३ जना र तनहुँमा २ जनाको मृत्यृ भएको छ।कास्कीको देउराली गाविस–८, मल्याङकोट, ठूलोपधेराँस्थित सिंहबहादुर गुरुङको घर बगाउँदा उनकी ८० वर्षीया आमा मंगली गुरुङ, २५ वर्षीया बुहारी सोनी गुरुङ र डेढवर्षीया नातिनी पूर्णिमा गुरुङको मृत्यु भएको हो। पहिरोमा परी सिंहबहादुरका अर्की नातिनी ११ वर्षीया नातिनी रेखा गुरुङ सामान्य घाइते छिन्।बुधबार राति २ बजेतिर झण्डै दश मिटरमाथिबाट रुखसहित आएको पहिरोले गुरुङको घर बगाएको हो।
राती ठूलो पानी परेपछि पहिरो जानसक्ने आशंकामा परिवारका अन्य सदस्यहरु लीलामाया गुरुङ र सिहबहादुर गुरुङ घर बाहिर निस्कँदा बच्न सफल भएका हुन्।घटना भएको थाहा भएपछि सातमुहाने देउराली प्रहरी चौकी तथा डाँडाकोनाक प्रहरी चौकीबाट गएको प्रहरीले टोलीले स्थानीयबासीको सहयोगमा अहिले उद्धार गरिरहेको छ।प्रहरीले बिहीबार बिहान पहिरोबाट ३ जनाको शव निकालेको घटनास्थल डाँडाकोनाक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पदम नेपालीले जानकारी दिए। घटनास्थल पोखराबाट करिब ३० किलोमिटर पूर्वी दिशामा पर्दछ।यस्तै, कास्कीको मिजुरेडाँडास्थित रुदीखोलामा अविरल वर्षापछि पहिरो गएको परी ६७ वर्षीय तारानाथ अधिकारी बेपत्ता भएका छन्। मंगलबार गएको सो पहिरोमा उनी बेपत्ता भएको ढिलो प्राप्त खबरपछि उद्दारका लागि डाँडाकोनाक प्रहरी टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। कास्कीको सदूरपूर्वी भेगमा पर्ने उक्त गाविसमा प्रहरीको टोली बिहीबार साँझमात्र पुग्ने जनाइएको छ।यसैगरी, तनहुँको थपे्रेक वडानम्बर ५ मा बुधबार राति गएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ।स्थानीय कृष्णबहादुर भुजेलको घर पहिरोमा पर्दा उहाँकी श्रीमती भगवती भुजेल र छोरी सीमा भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ।त्यस्तै, मुगुमा सडम निर्माणमा खटिएका तीन जनाको पहिरोले पुरेर मृत्यु भएको छ।सडक निर्माणमा खटिएका रामबहादुर बुढा, नरबहादुर बुढा र रत्नबहादुर बुढाको मृत्यु भएको हो